केही नलेखी बस्न सकिन। टिकापुरको काहाली लाग्दो समाचारले झक्झकाएको झक्झकायै गर्यो। कसरी मान्छे बाट माया भन्ने शब्द नै हरायो जस्तो लाग्यो। यसो सोच्दा माया त थियो नि आक्रमणकारीहरुलाई पनि भन्नु होला-आफ्नो छुट्टै प्रदेश बनाउने चाहना, स्वाभिमानले बाँच्न पाउने आशा, कुर्सीको माया, आफू र आफ्नो सन्तानको सुखी भविष्यको कल्पना, पैसाको माया, आदी, इत्यादी। फरक यती मात्र हो कि यो मेरो भनेर लिन खोज्दा अरु को के जान्छ भनेर नसोच्नुले सारा संसार भयावह बन्दैछ। शायद हामीबाट स्वतस्फूर्त रुपमा आउने भाव (instinctive reaction) नै स्वार्थिपना हुनुपर्छ। अनि आफ्नो समस्या सबैभन्दा ठूलो लाग्नु पनि एउटा मानविय चरित्र नै हो भन्ने मान्छु। त्यसैले त…………..
यो हाम्रो
यहाँ तिमीलाई निषेध छ
यो प्रदेश हामीलाई छुट्टाई देउ
यहाँ नआऊ
यो सबै तिमीले गर्दा भएको हो
हामीबाट टाढा बस
तिमी यो जातिको होऊ
मेरो भान्छामा नआऊ
तिमीले छोएको म खान्न
यसो नगरे समाजले के भन्लान्?
तिमी नेपाली हौ र?
कति धेरै अभिव्यक्तिहरु छन् हाम्रो वरिपरि, एक अर्कालाई तल देखाउने, होच्याउने, जिस्काउने, छुट्टाउने।
हुन त देशलाई नै स्वछन्द राख्न खोज्नु पनि देशवासीहरुको स्वार्थ नै होला किनभने देशसंग हाम्रो धेरै आशा, भरोषा, अनि सपनाहरू बांधिएको छ। देशको छायाँमा देशवासीहरु फक्रन पाउने आशा राख्छन्। आखिर यसो सोच्यो भने त देश पनि एउटा समाज नै त हो, हाम्रो सम्पूर्ण इतिहास बोकेको समाज, हाम्रो पहिचान बोकेको समाज। सरकारले जनहितको लागि सुबिधा अनी बिभिन्न पूर्वधारहरु तयार पारेको आधारमा हामीले आफ्नो देशलाई विश्वको सामु चिनाउन सक्छौ, गर्वले शीर उठाउन पाउछौं भन्ने आशाका साथ एउटा देशलाई आफ्नो घर बनाउछौं। नभए त पृथ्वी नारायण शाह भन्दा अगाडी टुक्रिएर बसेको नै त थियौँ नी।
यसो हेर्दा पहिले गर्व गरिने “चार वर्ण छत्तिस जाति, हामी सबै नेपाली” भन्ने बोल सबैलाई समेट्न लेखिए-भनिए पनि आज त्यहि नै हामी हामी बिचको मतभिन्नताको जरो बने झैँ लागेको छ।
बल्ल बल्ल बन्न लागेको संबिधान बन्न कति गाह्रो? अनि सम्विधान पनि बनि नसकिँदै नेपाललाई पहिलेको भन्दा फरक प्रदेशहरुमा छुट्टाउनुपर्ने मस्यौदा किन ठुलो? सबै नेपाली जनतालाई नेपाली भनेर सबै हक र अधिकार समान तरिकाले लाग्ने प्रावधान बनाउन कती गाह्रो? भारतले मिच्ला कि, भारतले चित्त दु:खाउला कि, महिलाहरुलाई समान अधिकार दिदा नेपाल को अस्तित्व नै खतम होलाकि? बाहुन, क्षत्री, राई, गुरुङ, मगर, थारु, मधेशी, कामी, दमाई, तल, माथि भनेर सबैलाई बिभिन्न तरिकाले समायोजन गर्न नखोजे संविधान नै पास नहोला कि? केहि नपाउदैं केहि गुमाई पो हालियेला कि भन्ने कस्तो त्रास हो यो?
हाम्रो त्रास मात्रले हामीलाई अगाडी नै बढ्न दिदैन भने नयाँ नेपालको सपना साकार कसरी गराउने? देशको विकास भएर देशको उन्नति, प्रगति भयो भने, सबैको निम्ति रोजगारको ढोकाहरु खुल्यो भने, काम गर्न खोज्ने अनि ब्यवसाय सुरु गर्नेहरु को लागि अनुकूल वातावरण बन्यो भने, देशका नागरिकहरु एक आपसमा किन लड्थे? समन्वयको वातावरण सिर्जना गर्न भुकम्पनै आउनु पर्छ भन्ने कहाँ छ? सबैको मनमा देशमा शान्ति आएको हेर्ने प्रबल इछ्या छ तर हाम्रो केही छिनियेला कि भन्ने डरले दुई हैन अनेकन बिरालोहरुको झगडा गर्ने अखाडा भएको छ नेपाल।
सय राम्रो कम गरेपछि एक नराम्रो गर्दा त नराम्रोको सम्झना बढी हुन्छ। यहाँ त बल्ल बल्ल विनाशपछीको छिरेको मसिनो किरण नै ओझेलमा पर्न थालेको छ। अन्यौल, शंका अनि लाचारी!
माया देशको हो कि घर को हो? माया देशको हो कि परिवार को हो? माया देशको हो कि आफ्नो उन्नतिको हो? सबै मानिसहरु स्वार्थी हुन्छन्। आफ्नो भलो हुने कार्य गर्न र अरुको अहित नहुने गरी अगाडि बढ्न पाउने सबैको हक अनि सबैको अधिकार हो। यो हकको रक्षा नेपालमा हामी सबैले एक अर्कालाई दिन सकिरहेका छैनौं। त्यही भएर त सानो सानो समाज बनेका छन्: दु:ख पोख्न, आफूलाई सुरक्षित भान गराउन।
औंला ठद्द्याउन निकै सजिलो हुन्छ- यो बाहुनले गर्यो, यो थारुले गर्यो, यो मधेशिले गर्यो, यो नेवारले गर्यो, तर किन गर्यो भन्ने सोचतर्फ ध्यान कमै जान्छ हाम्रो। यस्तो अब नहुन दिन के गर्ने भन्ने समाधान तर्फको सोच र त्यो अनुसारको योजनाहरुको कार्यन्वयन तर्फ कमीकमजोरी धेरै छ। यो ममा छ, हामी सबैमा बिभिन्न मात्रामा छ।
एक चोटि मिलेर जान खोजे कसो होला? आफू भन्दा बाहिरको समुदायको साथीहरुसँग बसेर यसबारेमा परामर्श सुरु गरे कस्तो होला? आ-आफ्नो तरफबाट सदभाव बढाउन प्रयास गरे कसो होला? केही ठुलो पाउनको लागि साना, साना मतभेदहरु पन्छाउँदा कस्तो होला? हाम्रो परम्परागत मन्यताहरुलाई पर राखेर सबै नेपाली हौँ अब नेपाललाई कसरी नयाँँ दिशा दिने भन्ने बारे मात्र बहस गरे के होला? मलाई भन्नु होला नेपाल बाहिर बसेर ठुलो ठुलो कुरा गर्यो भनेर, तर माया आफ्नो देशको देखाउने हक जहाँँ बसेर पनि पाउने अधिकार हो भन्ने मान्छु म।
एक अर्कालाई सहयोगको भवना मात्र राख्ने, राख्न नजान्नेलाई दोष देखाएर काम गर्न नै रोक्नु भन्दा आफूले काम गर्दै नमुना भएर आफ्नो बाटोमा अटल रहिरहने गर्दा कसो होला? राम्रो काममा लागि पर्दा केही नगर्ने थोरैले पनि फाईदा पाउछन् तर त्यसको डरले कामै नगरे फल कसैको हातमा पनि आउँदैन। नेताहरुलाई, सम्विधान सभाका सदस्यहरुलाई नेपाली जनाताको हकमा योजनाहरु पारीत गर्न प्रेरित गर्न सबै छलफलहरु सर्वजनिक हुनुपर्ने माग पो गर्ने कि? संचारकर्मी, बिभिन्न क्षेत्रका विज्ञहरु, अनि अन्य पदधिकारीहरुलाई छलफल गर्न लगाइ, जनताको “नेपाली फोरम” बाट पारीत गरेको मस्यौदा पो सम्विधान सभाको अगाडी पेश गर्ने कि? हाम्रो एकताले हाम्रो भविष्यको रेखा पो कोर्ने कि?
गल्ती धेरैबाट धेरै भैसके, पिडा धेरैलाई धेरै पुगिसके, एक अर्काको आशु पुछ्न धेरै गाह्रो भैसक्यो। हरेक नेपालीलाई नेपाल चाहिन्छ तर नेपाली चहिन्न कि भन्ने भान हुन लागिसक्यो।
सबै प्रश्नको उत्तर छैन म सँग, अझ धेरैभन्दा बुझाई पनि कम नै छ मेरो नेपालको अहिलेको यथास्थितिको। तर तपाईंहरु जस्तै के गर्ने भन्ने अन्यौलमा पक्कै छु र बाटो खोज्ने प्रयत्नमा छु। सही बाटोमा लक्ष हुनु पर्छ भन्ने मन्यता भने पक्कै छ। सही दिशामा छैनौ भन्ने निर्क्यौल पनि छ। त्यही भएर लेख्दै छु। धेरै राम्रा काम हुँदैछन् तर देश अगाडि बढ्नलाई बलियो पूर्वधारहरु बन्नु जरूरी छ, हाम्रा पुरातन सम्झाइ बुझाइहरुमा पनि परिवर्तन आउन जरूरी छ। अनि यो अहिलेको स्तिथिबाट हामी सबै मिल्यौं भने परिवर्तन ल्याउन सम्वभ छ भन्ने विश्वास पनि आवश्यक छ।
थोपा थोथो पानीले समुन्द्र बन्छ भने समुन्द्र किन नबनाउने, आफ्नो आफ्नो सीपलाई काममा लगएर सिंगो नेपाललाई किन नबनाउने?